जुम्ला । जुम्लामा सुत्केरीपछि स्वास्थ्य अवस्था जटिल बनेकी एक महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीलाई थप उपचारका लागि जुम्लाबाट सुर्खेत लगिएको हो।
परिवारका अनुसार उनले सुरुमा घरमै सुत्केरी गराउने प्रयास गरिएको थियो। तर लामो समयसम्म व्यथा लागिरहँदा अवस्था जटिल बन्दै गएपछि उनलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याइएको थियो। प्रतिष्ठानमा चिकित्सकको टोलीले शल्यक्रिया गरेर सुत्केरी गराए पनि उनको स्वास्थ्यमा थप समस्या देखिएपछि उच्चस्तरीय उपचार आवश्यक भएको जनाइएको छ।
चिकित्सकका अनुसार अत्यधिक व्यथा लागेर ढिलाइ हुँदा सुत्केरीपछि जटिल स्वास्थ्य समस्या देखिन सक्ने जोखिम रहने भएकाले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने निष्कर्ष निकालिएको थियो। त्यसपछि उनलाई कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा रिफर गरिएको हो।
दुर्गम भौगोलिक अवस्था र सडक यातायातको असुविधाका कारण स्थलगत रुपमा बिरामी सार्न समय लाग्ने भएपछि हेलिकोप्टरमार्फत उद्धार गर्ने निर्णय गरिएको थियो। जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हेलिकोप्टर उद्धार व्यवस्था मिलाइएको हो।
नेपाली सेनाको हेलिकोप्टरमार्फत अस्मिता नेपालीलाई सुरक्षित रुपमा सुर्खेत पुर्याइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। अहिले उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

