फागुन ९ जुम्ला 

रनिल विक्रम शाहीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्नु भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले आगामी निर्वाचनका लागि प्रतिबद्धतासहित घोषणा पत्र सार्वजनिक गर्नु भएको हो । रनिल जिताउ, राष्ट्र जोगाउ “भन्ने नारा सहित नेपाल जनता पार्टी जुम्लाका उम्मेदवार शाहीले ३७ बुँदे घोषणापत्र सार्वजनिक गर्नु भएको हो ।

उम्मेदवार शाहीले देश अत्यन्तै संकटको घडीमा रहेको हुदा आफ्नो सुख सुबिधा त्यागेर यो देशको रक्षाको निम्ति जन्मभुमीमा नेपाल जनता पार्टी देखि प्रतिनिधि सभा प्रत्यक्ष तर्फ जेनजीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको बताउनु भयो । घोषणा पत्रमा जुम्लाका सबै स्थानीय तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा लागु गर्ने उल्लेख गरिएको छ ।

शिक्षालाई आधारभूत अधिकारका रूपमा स्थापित गर्दै सामुदायिक विद्यालयको स्तरोन्नति, आवश्यक शिक्षक व्यवस्थापन र शैक्षिक पूर्वाधार विस्तार गर्ने योजना अघि सारिएको छ । साथै ‘एक घर–एक रोजगार’ कार्यक्रम सञ्चालन गरी बेरोजगारी न्यूनीकरणमा ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई ५० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गर्न नीतिगत पहल गर्ने घोषणा गरिएको छ ।

कृषि उत्पादन वृद्धि, बजारीकरणको सुनिश्चितता र आधुनिक प्रविधिको प्रयोगमार्फत जुम्लालाई कृषिमा सक्षम जिल्ला बनाउने लक्ष्य उहाँले राख्नु भएको छ । त्यस्तै, जुम्लाका सबै गाउँमा सुधारिएको सडक सञ्जाल विस्तार गर्ने, अधुरा विकास आयोजना सम्पन्न गर्ने र पूर्वाधार विकासलाई तीव्रता दिने योजना घोषणा पत्रमा समेटिएको छ।

छोरीहरूलाई निःशुल्क उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने तथा सबै स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ । उम्मेदवार शाहीले नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट पीडित भएकाहरूको भविष्य निर्माणका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

साथै नेपाली भाषाको उत्पत्तिसँग जोडिएको खस भाषाको संरक्षण र प्रवद्र्धनका लागि नीतिगत पहल गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । उहाँले घोषणा पत्र कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र जनसहभागिता सुनिश्चित गरिने विश्वास व्यक्त गर्दै जुम्लावासीलाई विकास र समृद्धिको यात्रामा साथ दिन आग्रह गर्नु भएको छ ।

Share.

Leave A Reply

Exit mobile version