वैशाख १८ जुम्ला
पातारासी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा मालिका माध्यमिक विद्यालय लोठचौरको सहजीकरणमा वैशाख १५ गतेदेखि सुरु भएको प्रतियोगिता १८ गते सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माध्यामिक विद्यालयहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय तल्फी उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
समान ७ स्वर्ण पदक जिते पनि कम रजत पदकका कारण सरस्वती माध्यमिक विद्यालय रिनी ७ स्वर्ण, ३ रजत र २ कास्यसहित द्वितीय स्थानमा सीमित भएको छ । यस्तै, शंकर माध्यमिक विद्यालय लोर्पालले ६ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्दै तृतीय स्थान सुरक्षित गरेको छ । अन्य सहभागी विद्यालयहरूतर्फ ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले ३ स्वर्ण, ६ रजत र ५ कास्य पदक प्राप्त गरेको छ भने गंगा माध्यमिक विद्यालय पेरेले ३ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेको छ ।
त्यसैगरी, सहजीकरणकर्ता विद्यालय मालिका माध्यमिक विद्यालय लोठचौरले २ स्वर्ण, ६ रजत र ६ कास्य पदक हात पार्दै प्रतियोगितामा सम्मानजनक उपस्थिति जनाएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी लगायत विभिन्न खेलहरू समावेश गरिएको थियो । खेलमार्फत विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, अनुशासन, सहकार्य र शारीरिक तन्दुरुस्ती विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले स्थानीय तहमा खेलकुदको विकास र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । समापन समारोहलाई सम्बोधन गर्दै पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले विद्यालय स्तरबाटै राष्ट्रका उत्कृष्ट खेलाडी उत्पादन हुने बताउनु भयो । उहाँले पातारासी क्षेत्र जुम्ला जिल्लामै खेलकुदका हिसाबले अग्रस्थानमा रहेको उल्लेख गर्दै विगतमा सुनमाया र राममाया जस्ता प्रतिभाशाली खेलाडी उत्पादन भएको स्मरण गर्नु भएका छ ।
उपाध्यक्ष रोकायाले भविष्यमा खेलकुद क्षेत्रको थप विकासका लागि गाउँपालिकाले आवश्यक बजेट तथा संरचना निर्माणमा प्राथमिकता दिने बताउँदै विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । उहाँले खेलकुदले व्यक्तित्व विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता वृद्धि गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतियोगिताले स्थानीय स्तरमा खेलप्रतिको आकर्षण बढाउनुका साथै नयाँ खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागी तथा शिक्षकहरूको भनाइ छ । आयोजकका अनुसार आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने योजना रहेको छ ।

