चैत ५ जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिकामा फोहोर व्यवस्थापन फेरि चुनौतीपूर्ण बनेको छ । नगरपालिकाले नियमित रूपमा फोहोर फाल्दै आएको स्थानमा स्थानीय समुदायको अवरोधपछि समस्या झनै चर्किएको हो । नगरपालिकाले यसअघि वडा नम्बर २ को दुनादुनै क्षेत्रमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर भण्डारीवाडा गाउँका स्थानीयले करिब एक वर्षदेखि फोहोर फाल्न नदिएपछि वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
हाल नगरपालिकाले आफ्नै कार्यालय पछाडि रहेको अस्थायी संकलन केन्द्रमा फोहोर जम्मा गर्दै आएको छ । तर यसले दीर्घकालीन समाधान दिन नसकेको भन्दै बजारवासीले नियमित फोहोर संकलन नहुँदा गुनासो गरिरहेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढथापाले बजारको फोहोर नियमित रूपमा उठाइरहेको बताउनु भयो । उहाँका अनुसार दुनादुनैमा समुदायको असहयोगका कारण अस्थायी रूपमा अन्य स्थानमा फोहोर राख्नु परेको हो ।
संकलन गरिएका कार्टुन पुनः प्रयोग योग्य फोहोर तराई पठाउने गरिएको र अन्य फोहोर अस्थायी केन्द्रमै थुपारिएको जानकारी उहाँले दिनुभयो । यस्तै, उपप्रमुख रामदेवि खड्काले पनि स्थानीयको विरोधका कारण दुनादुनैमा फोहोर व्यवस्थापन रोकिएको बताउनु भयो । उहाँका अनुसार बजारबाट संकलित केही फोहोर रंगशाला नजिकको खाल्डोमा तथा केही नगरप्रमुख राजुसिंह कठायतको क्रसर उद्योग क्षेत्रमा गाड्ने गरिएको छ ।
नगरपालिकाले कुहिने फोहोर स्थानीय स्तरमै व्यवस्थापन गर्ने र नकुहिने फोहोर संकलन गर्ने नीति अपनाएको जनाएको छ । दीर्घकालीन समाधानका लागि वडा नम्बर ८ मा फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्ने पहल भइरहेको भए पनि उपयुक्त जग्गाको टुंगो लाग्न सकेको छैन । यसैबीच, दुनादुनै क्षेत्रमा सडक विस्तार र घेरबारको काम गरिएको छ ।
तर स्थानीय समुदायको असहयोगकै कारण फोहोर व्यवस्थापनमा समस्या कायमै रहेको नगरपालिकाले जनाएको छ । स्थायी समाधानको अभावमा चन्दननाथ नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
