चैत १७ जुम्ला
हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीहरूको संरक्षण र दिगो व्यवस्थापनका विषयमा एन्साब जुम्लाले गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ का संकलक, व्यापारी तथा सामुदायिक वनका पदाधिकारीसँग अन्तरक्रिया गरेको छ । अव्यवस्थित संकलनका कारण जडिबुटी लोप हुने अवस्थामा पुगेपछि सरोकारवालासँग छलफल गरिएको हो । छलफल कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सवडिभिजन वन कार्यालयका प्रतिनिधि तथा सामुदायिक वन समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
वनधारा सामुदायिक वनका अध्यक्ष भिम बहादुर बोहोराले जथाभावी संकलनका कारण जडिबुटी हराउँदै गएको बताउनु भयो । गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ जडिबुटीका दृष्टिले समृद्ध भए पनि अव्यवस्थित संकलनले अहिले लोपोन्मुख अवस्थामा पुगेको उहाँको भनाइ छ । सामुदायिक वनमार्फत संकलनलाई व्यवस्थित बनाइने उहाँले जानकारी दिनुभयो । त्यस्तै, स्थानीय जडिबुटी व्यापारी रतन बोहोराले संकलनको समय पालना नहुँदा समस्या झन् बढेको बताउनु भयो ।
उहाँका अनुसार असारमा संकलन गर्नुपर्ने वन लसुन जेठमै संकलन गरिदा त्यसको पुनः उत्पादनमा असर परेको छ । गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले जडिबुटीको दिगो संकलन र व्यवस्थापनका लागि कार्यविधि निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । सवडिभिजन वन कार्यालय र एन्साबका प्राविधिक ज्ञान तथा सीप प्रयोग गरी कार्यविधि तयार गर्न र त्यसलाई गाउँसभा वा कार्यपालिकाबाट पारित गरी कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ ।
उहाँले जडिबुटी संरक्षणको मुख्य जिम्मेवारी समुदायकै भएको उल्लेख गर्दै संकलनमा कडाइ नगर्दा स्रोत नष्ट हुने अवस्था आएको बताउनु भयो । जडिबुटी समुदायको प्रमुख आयस्रोत भएकाले संरक्षणमा ध्यान दिनुपर्ने उहाँको जोड छ । एन्साब जुम्लाका प्रमुख प्रवेश कक्षपतिले जडिबुटीको दिगो व्यवस्थापनका लागि प्रमाणीकरण सम्बन्धी जानकारी प्रदान गरिएको बताउनु भयो । हिमाली क्षेत्रमा पाइने जडिबुटी लोप हुने अवस्थामा पुगेकाले सम्बन्धित निकायले संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनु भयो ।
उहाँका अनुसार जडिबुटी संकलनका लागि निश्चित समय निर्धारण गर्नु अत्यावश्यक छ । अव्यवस्थित संकलनले जडिबुटी विनाश भइरहेको उल्लेख गर्दै समुदाय र सामुदायिक वन समितिका पदाधिकारी सक्रिय भएमा वन संरक्षणसँगै जडिबुटी जोगाउन सकिने उहाँको विश्वास छ । एन्साबले गुठिचौर गाउँपालिका वडा नम्बर १ र २ का पाँच वटा सामुदायिक वन समितिसँग सहकार्य गरी जडिबुटी संरक्षण तथा दिगो व्यवस्थापनका कार्यक्रम अघि बढाउने जनाएको छ ।

