वैशाख १८ जुम्ला
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा बालबालिकाका सवालहरू समेट्न माग गरिएको छ । जुम्लाका गुठिचौर, पातारासी गाउँपालिका र चन्दनननाथ नगरपालिकामा आयोजित बाल भेलाबाट बालबालिकाले नीतिगत व्यवस्था गर्न स्थानीय सरकारसँग आग्रह गरेका हुन् । बालबालिकाले कुरीति र कुसंस्कार अन्त्यका लागि अभियान सञ्चालन गर्न, बालमैत्री तथा अपाङ्गमैत्री संरचना निर्माण गर्न, विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन तथा गरीब, जेहेन्दार र विपन्न बालबालिकाका लागि सहयोग व्यवस्था गर्न माग गरेका छन् ।
साथै, बालश्रम अन्त्य गर्न र स्थानीय तहमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न पनि उनीहरूले जोड दिएका छन् । जुम्लाको चन्दननाथ नगरपालिकामा आयोजित दुई दिने बाल भेलाबाट छलफल गर्दै बालबालिकाले आफ्ना मागहरू स्थानीय सरकार समक्ष पेश गरेका हुन् । आगामी नीति, कार्यक्रम र बजेटमा ती मागहरू सम्बोधन गर्न उनीहरूले आग्रह गरेका छन् ।
चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले बालबालिकाले उठाएका मागहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएका छ । नगरपालिकाको बजेटबाट बालबालिकाले उठाएका मागहरू सम्बोधन गर्ने उहाँको भनाइ छ । बालिबालकालाई सक्रिय हुन उहाँले अनुरोध गर्नु भएको छ । त्यस्तै, नगर उपप्रमुख रामदेवी खड्काले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा आवश्यक व्यवस्थापन गरिने बताउनु भयो ।
आवश्यकता पहिचान गरी बालबालिकाका मागहरू सम्बोधन गरिने उहाँले जानकारी दिनुभयो । उपप्रमुख खड्काले बालबालिकालाई कुरीति विरुद्ध सक्रिय हुन आग्रह गर्दै अहिले पनि केही बालबालिका कुलतमा फसिरहेको र बालविवाह जस्ता समस्या कायम रहेको उल्लेख गर्नुभयो । बालबालिकाले आफ्नो अधिकारसँगै कर्तव्य पनि पालना गर्नुपर्ने उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा किर्डाक नेपाल, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र सोसेक नेपालको समन्वय र सहकार्यमा उक्त बाल भेला कार्यक्रम आयोजना गरिएको हो ।

