कात्तिक १२ जुम्ला
पातारासी गाउँपालिका–४ डिल्लीचौर स्थित ऋणमोक्ष माध्यमिक विद्यालय र जापानको चिवा नेतुकि सिनियर एण्ड जुनियर हाईस्कुल बिचको भगिनी सम्बन्ध अझ सुदृढ बन्ने भएको छ । सन् २०२५ अक्टोबर २५ मा जापानको चिवा नेतुकि सिनियर एण्ड जुनियर हाईस्कुलले आफ्नो १ सय औँ वार्षिकोत्सव मनाउँदा ऋणमोक्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बुढा र निवर्तमान प्रधानाध्यापक हरि बुढा कार्यक्रममा सहभागी हुन जापान पुग्नुभएको हो ।
प्रधानाध्यापक बुढाका अनुसार दुवै विद्यालय बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य सहित भ्रमण गरिएको बताउनु भयो । शैक्षिक तथा सांस्कृतिक आदान प्रदानका माध्यमबाट विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने योजना रहेको उहाँले सुनाउनु भयो । जुम्लाका डोरबहादुर विष्टको पहलमा दुवै विद्यालय बिच भगिनी सम्बन्ध स्थापित भएको हो ।
तर, विद्यालयमा उक्त सम्बन्धको औपचारिक प्रमाणपत्र भने नभएको विद्यालय प्रशासनले जनाएको छ । जापानको चिवा नेतुकि सिनियर एण्ड जुनियर हाईस्कुलले पातारासी–४ स्थित ऋणमोक्ष माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

