माघ २२ जुम्ला
नेकपा एमाले जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियानलाई तीव्र बनाएको छ । निर्वाचन केन्द्रित गतिविधिलाई अघि बढाउने क्रममा बुधबार तातोपानी गाउँपालिका स्तरीय पालिका कमिटीको विस्तारित बैठक सम्पन्न गरिएको छ । बैठकले एमाले नेता आदी प्रसाद न्यौपानेको संयोजकत्वमा पालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
उक्त समितिले तातोपानी गाउँपालिका भित्र सञ्चालन हुने सम्पूर्ण निर्वाचन गतिविधिको नेतृत्व गर्ने जनाइएको छ । निर्वाचन परिचालन, संगठन परिचालन तथा गाउँ–बस्तासम्म पार्टीको पहुँच विस्तार गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनु भएका शान्तिलाल महत प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनु भएको छ ।
जनस्तरमा राम्रो संगठन भएको दाबी गर्दै एमालेले २६ वर्षपछि जित निकाल्ने लक्ष्यसहित चुनावी तयारीलाई तीव्र बनाएको जनाएको छ । एमाले जुम्लाका प्रचार विभाग प्रमुख सरोज शाहीका अनुसार जिल्लाका आठै पालिकामा पालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने काम भइरहेको छ । सबै गाउँ–बस्तीमा पुग्ने, पालिका तथा वडा कमिटीलाई सक्रिय रूपमा परिचालन गर्ने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने रणनीतिका साथ एमाले चुनावी अभियानलाई निरन्तर अघि बढाइरहेको बताइएको छ ।

