कात्तिक २९ जुम्ला
गुठिचौर गाउँपालिका–२ गोठी गाउँस्थित इलाका स्वास्थ्य चौकीमा एक दिने प्रजनन स्वास्थ्य तथा महिलाको पाठेघर सम्बन्धी शिविर सञ्चालन गरिएको छ । सर्वोदय नेपाल जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहजीकरणमा कात्तिक २८ गतेका दिन शिविर सञ्चालन गरिएको हो । शिविरमा वडा नम्बर १ र २ का १ सय १० जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।
प्रजनन स्वास्थ्य तथा पाठेघर सम्बन्धी समस्या पहिचान र उपचारमा पहुँच बढाउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको सर्वोदय नेपाल जुम्लाका सामाजिक परिचालक मित्रराज खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाको प्रजनन स्वास्थ्यमा पहुँच बढाउन र समस्या पहिचान गर्न शिविर प्रभावकारी बनेको बताउनु भयो ।
स्वास्थ्य जाँचका क्रममा पाठेघर सम्बन्धी समस्या देखिएका १४ जना महिलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । शिविरको नेतृत्व स्त्रीरोग विशेषज्ञ डाक्टर सागर कोइराले गर्नुभएको थियो । डाक्टर कोइराका अनुसार सरसफाइको कमीले महिलाहरूमा सामान्य पाठेघर सम्बन्धी समस्या देखिने गरेको बताउनु भयो ।
विशेषगरी महिनावारी भएको बेला व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन उहाँले सुझाव दिनुभयो । ग्रामीण क्षेत्रका धेरै महिलाहरू पाठेघर सम्बन्धी समस्या खुलस्त रूपमा बताउन लजाउने गरेको उहाँले बताउनु भयो । डा. कोइराका अनुसार लजाईरहँदा उपचारमा ढिलाई हुने भएकाले पछि गम्भीर जटिलता र क्यान्सर हुने जोखिम बढ्न सक्ने अवगत गराउनु भयो ।
महिलाहरूलाई दैनिक जीवनमै देखिन सक्ने केही लक्षणप्रति सावधान रहन समेत उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार, सेतो पानी बग्ने, यौनिको भाग चिलाउने, तल्लो पेट दुख्ने र महिनावारी अनियमित हुने जस्ता समस्या देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी दिन सुझाव दिनु भएको छ । लजाएर बस्ने बानीकै कारण धेरै महिलामा जटिल समस्या देखिने गरेको उहाँको भनाइ छ ।
पाठेघरका समस्या समयमै खुलेर भन्न सके उपचार सरल र प्रभावकारी हुन्छ । डाक्टर कोइराले सरसफाईको कमीले धेरै महिलामा पाठेघरको समस्या देखिने बताउनु भयो । विशेषगरी महिनावारीका बेला व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत उहाँले सुझाव दिनु भएको छ ।

