कात्तिक १३ जुम्ला
अखिल नेपाल फुटबल संघ (एन्फा) जुम्लाले जिल्लाका सामुदायिक विद्यालयहरूलाई फुटबल वितरण गरेको छ । एन्फाले २६ वटा सामुदायिक विद्यालयलाई एकैपटक ६ सय २५ वटा फुटबल वितरण गरेको हो । यस कार्यले विद्यालयस्तरमै खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको एन्फा जुम्लाका अध्यक्ष भरत वहादुर बुढथापाले बताउनु भयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्गको प्रमुख आतिथ्यमा जुम्लाका २६ वटा सामुदायिक तथा निजी विद्यालयलाई बल वितरण गर्नु भएको हो । फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत जिल्लाको टुडिखेल मैदानमा आयोजित भव्य समारोहमा बल हस्तान्तरण गरिएको हो । जिल्ला अध्यक्ष बुढथापाका अनुसार तिला, तातोपानी, चन्दननाथ, गुठिचौर र पातारासी गाउँपालिका क्षेत्रका विद्यालयहरूलाई लक्षित गर्दै माध्यमिक, निम्न माध्यमिक र आधारभुत विद्यालयहरूलाई क्रमशः २५, १५ र ७ बल वितरण गरिएको बताउनु भयो ।
उहाँले प्रतिबल करिब ५ हजार ५ सय मूल्यका केल्मी ब्रान्डका ६ सय २५ बलहरूको कुल लागत ३४ लाख ३७ हजार ५ सय रुपैयाँ बराबर रहेको छ । जुन एन्फाको इतिहासमै सबैभन्दा ठुलो बल वितरण गरिएको हो । जिल्लामा राम्रो रंगशाला नभएपनि निर्माणको क्रममा रहेको रंगशाला बनेपछि केही सहज हुने उहाँे बताउनु भयो । यस्तै एन्फाका केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले फुटबल केवल खेल मात्र नभई यो बालबालिकाको सर्वाङ्गिण विकास, सामाजिक एकता र कुलतबाट टाढा राख्ने माध्यम रहेको बताउनु भयो ।
उहाँका अनुसार देशका ७७ वटै जिल्लाका एक हजार भन्दा बढी विद्यालयमा यो अभियान विस्तार गरिएको छ । जसमा जुम्ला सबैभन्दा अगाडि रहेको उहाँको भनाइ छ । जुम्लामा बन्दै गरेको रंगशालाले अझ खेलकुद क्षेत्रको बिकास हुने उहाँले बताउनु भयो । चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काका अनुसार, जुम्लामा रंगशाला निर्माणको अन्तिम तयारी रहेको बताउनु भयो । आगामी ५–६ महिनामा जुम्लामा आफ्नै खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने उहाँको भनाइ छ ।
उहाँले खेल क्षेत्रको बिकासका लागि चन्दननाथ नगरपालिका सँधै लागि पर्ने बताउनु भयो । कार्यक्रममा एन्फा ग्रासरुट हेड कोच पंकज शाहीले खेल मार्फत असल नागरिक निर्माण र सामुदायिक विकासमा योगदान पुग्ने बताउनु भयो । उहाँले फुटबलले दुर्गम क्षेत्रका बालबालिकामा आत्मविश्वास र अवसर दिने जानकारी गराउनु भयो । एन्फा जुम्लाका अध्यक्ष भरत बुढथापाको सक्रिय पहलमा सम्पन्न फुटबल वितरणले जिल्लाको खेल इतिहासमा नयाँ अध्यायको सुरुवात गरेको सहभागीहरूले जनाए ।
यस्तै, एन्फा जुम्लाका कोच महेश बुढथापाले फुटबल प्रति युवाको आकर्षण बढ्दै गएको बताउनु भयो । तर खेलमैदान र पूर्वाधार अभावका कारण जुम्लाले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न नसकेको बताउनु भयो । उहाँका अनुसार, पुर्वधार अभावका कारणले पनि राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्ने जुम्ला रंगशाला निर्माण भए पछि अझ खेल क्षेत्रमा फड्को मार्ने बताउनु भयो । अब जुम्लामा खेल पूर्वाधार निर्माण र खेल शिक्षा विस्तार सँगै फुटबल विकासको गति तीव्र हुने अपेक्षा गरिएको छ ।

