मङ्सिर ८ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको आगामी माघमा हुने नयाँ नेतृत्वको निर्वाचनमा अध्यक्ष पदका लागि डा. रावलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो । डा. रावलले उम्मेदवारी घोषणाको जानकारी दिँदै सामाजिक सञ्जालमा भिडियो सन्देश समेत जारी गरिसक्नु भएको छ । देशभरका चिकित्सकहरूको छाता संगठनको नेतृत्व गर्नका लागि उम्मेदवारी घोषणा गरेको उहाँको भनाइ छ ।
डा. रावलले चिकित्सा पेशामा हासिल गरेका अनुभव र नेतृत्व क्षमताका आधारमा संघमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आफु अघि सरेको बताउनु भयो । जुनसुकै विचारधारा, भुगोल वा पृष्ठभूमिबाट आएका भए पनि बिगतमा महत्वपूर्ण योगदान पु¥याएका र भविष्यमा अझ ठुलो भुमिका निर्वाह गर्न सक्ने सबै चिकित्सक साथीहरूलाई टिममा जोडिन आग्रह उहाँले अनुरोध गर्नु भएको छ ।
उहाँका अनुसार चिकित्सक संघमा आवश्यक संरचनागत तथा नीतिगत परिवर्तन एउटै व्यक्तिको प्रयासले सम्भव नभएकाले त्यसका लागि साझा संकल्प र सामुहिक नेतृत्व आवश्यक रहेको रावलको भनाइ छ । आगामी निर्वाचनको तयारीका क्रममा उहाँले नेपाल चिकित्सक संघको सदस्यता नलिएका सबै चिकित्सकहरूलाई मङ्सिर १३ भित्र अनिवार्य रूपमा सदस्यता लिनुपर्ने आवश्यकता औंल्याउदै समयमै दर्ता प्रक्रियामा सहभागी हुन अनुरोध गर्नु भएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस, चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमएस अर्थोपेडिक्स, बंगलादेशमा एओए फेलोशिप, त्रिभुवन विश्वविद्यालयबाट एमपीए, हार्वर्ड मेडिकल स्कुलको LIMSEA तथा एलएलबी अध्ययनरत डा. रावल कर्णाली क्षेत्रका सक्रिय अर्थोपेडिक चिकित्सक हुनुहुन्छ ।

