बा

 

तिमी मेरो जीवनको पहिलो स्वर,

मेरा पहिलो रुनु–हास्नुका साक्षी।

तिम्रो अँगालोमै सुरु भएको संसार

आज पनि मलाई सुरक्षित लाग्छ।

 

बा,

तिम्रो काँधमा बसेर देखेको आकाश

मेरा सपनाभन्दा ठूलो थियो।

तिम्रो हात समाएर चलेको बाटो

आजसम्म मेरो दिशानिर्देशक बनेको छ।

बा,

तिमीले आफ्नो भोक लुकाएर

मलाई अन्नको थाल भरिदिनुभयो।

तिमीले आफ्ना चप्पल च्यातेर

मलाई जुत्ता किन्नुभयो।

तिमीले आफ्ना इच्छाहरू जलाएर

मेरा आशाहरू उज्यालो पार्नुभयो।

बा,

तिम्रो प्रत्येक पसिनाको थोपा

मेरो जीवनको अक्षर बनेको छ।

तिम्रो प्रत्येक मौन सहनशीलता

मेरो लागि धर्मग्रन्थ बनेको छ।

आज तिम्रो मुख हेर्ने दिन,

तर मेरो नजरमा तिमी सधैं उदाउँछौ–

सूर्यझैं, चन्द्रमाझैं,

मेरो हृदयभित्रको अनन्त देवता झैं।

बा,

तिमी विना संसार कल्पना शून्य छ।

तिमी हुनु

मेरो भाग्य,

मेरो धर्म,

मेरो मुक्तिको बाटो हो।

बा,

तिमी मेरो रक्तधारा मात्र होइन,

तिमी मेरो श्वासको प्रत्येक धड्कन हौ।

तिमी बिना

म म हुँ भन्ने कुरा नै सम्भव छैन।

बा,

तिमी मेरो संसारको पहिलो आकाश,

जसको छायामा हुर्किएको छु म।

 

तिमीले पसिना बगाएर भिजाएको धर्ती

आज मेरो आशाको बगैँचा बनेको छ।

बा,

तिम्रा कठोर हातहरूमा

मायाको कोमलता लुकेका रहेछन्,

तिम्रो मौनतामा

सारा जगत्को शिक्षा भरेका रहेछन्।

 

आज तिम्रो मुख हेर्ने दिन,

तर म त प्रत्येक दिन

तिम्रो अनुहारमा

ब्रह्मा, विष्णु, महेश देख्छु।

बा,

तिमी विना मेरो अस्तित्व अधुरो,

तिमी विना यो यात्रा अन्धकार।

तिमी हुनु

मेरो लागि भगवान हुनु हो,

मेरो जीवनको सबभन्दा

पवित्र प्रार्थना हुनु हो।

 

बा,

तिम्रो आँखा कहिल्यै ठूलो सपना देख्न नजाने,

तर मेरा लागि सारा दुनियाँ देखिदिन सक्ने।

तिम्रो थकाइ लुकाउने हाँसो,

मेरा लागि संसारकै सुन्दर कविता हो।

 

बा,

तिमीले मलाई खुट्टा टेक्न सिकाउँदा

स्वयम् आफ्नो खुट्टा थकाइले काँप्थे,

तर मलाई उचालेर हाँसिदिन सक्ने तिम्रो सामर्थ्य

देवताको वरदान जस्तै लाग्छ।

 

बा,

तिमीले कहिल्यै “माया गर्छु” भन्नु भएन,

तर तिम्रो नजर, तिम्रो पसिना,

तिम्रो मौन बलिदान,

सयौं शब्दभन्दा शक्तिशाली बनेर

मेरो जीवनलाई दिशा दिन्थे।

 

बा,

तिमी मेरो धरती,

तिमी मेरो आकाश,

तिमी मेरो बाटो,

तिमी मेरो प्रकाश।

 

 त्याग

 

बा,

तिमीले देखेका सपना अधुरै छोड्यौ,

मेरा सपना पूरा गर्न।

तिमीले आफ्नो हातमा किताबभन्दा

कोदाली समायौ,

मलाई कलम समाउन सकोस् भनेर।

 

बा,

तिमीले आफ्ना नाङ्गा खुट्टाले

पर्वतका बाटो नाप्यौ,

मलाई जुत्ताको आराम दिलाउन।

 

तिमीले आफ्ना आँखामा

सपना थामेर राख्यौ,

तर त्यही सपना

मेरा आँखामा रोपिदियौ।

 

बा,

तिमीले कहिल्यै आफ्नो पीडा सुनाएनौ,

तर मेरो खुसीका लागि

आफ्नो मुटु जलाएर बत्ती बनायौ।

 

तिमीले आफ्ना इच्छा–आकांक्षा

त्यागेर,

मेरो जीवन उज्यालो पार्यौ।

 

बा,

तिमी मेरो लागि भगवान मात्र होइनौ,

तिमी त्यस्तो गाथा हौ,

जसको अक्षर अक्षरमा

त्याग, बलिदान र माया खोपिएको छ।

 

आज तिम्रो मुख हेर्ने दिन,

मेरो सारा जीवन

तिमीलाई धन्यवाद भन्नकै लागि पर्याप्त छैन।

Share.

Leave A Reply

Exit mobile version