जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिका–१, चोत्रागाउँको माथिल्लो भागमा अवस्थित दुधकुण्ड पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। समुद्री सतहदेखि झण्डै ४६ सय मिटर उचाइमा रहेको यो ताल धार्मिक आस्था र प्राकृतिक सौन्दर्य दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। गरुड पंक्षीको प्वाँख फैलिएको आकार झैँ देखिने दुधकुण्ड वरपरको पहाडी भू–दृश्यलाई अझ सुन्दर बनाइदिन्छ।
चोत्रागाउँबाट करीब पाँच घण्टाको पैदलमार्ग पार गरेपछि पुगिने दुधकुण्डमा विशेषगरी नाउँ पूर्णिमाको अवसरमा गाथा चोख्याउने परम्परा स्थानीयमा प्रचलित छ। तालको किनारबाट सुरु हुने कठोर उकालो, बीच–बीचमा पर्ने खाल्सी र ढुंगामय चट्टान पार गर्दै माथिल्लो किनारमा पुगेपछि सेतो हिउँले सजिएको दृष्यले जो–कोहीलाई मोहित बनाउँछ।
हाल दुधकुण्डसम्म पहुँच सहज बनाउन आंशिक पदमार्ग त बनाइएको छ तर तालछेउसम्म पुग्नुपर्ने मार्ग अझै विस्तार हुन बाँकी छ। हिमालयबाट आएको हिउँ–पानीले भरिने भएकाले दुधकुण्ड वर्षभर नै मनमोहक देखिन्छ। कठिन उकालो चढेपछि देखिने दृश्यले यात्रुको थकान पलभरमै हराइदिन्छ।
दुधकुण्डबाट पश्चिमतर्फ करिब एक घण्टा हिँड्दा अर्को आकर्षक गन्तव्य—आकासे ताल—पुग्न सकिन्छ। तर स्पष्ट र सुरक्षित पदमार्ग नहुँदा धेरै यात्री बीचमै भट्किने समस्या देखिँदै आएको स्थानीय वडाध्यक्ष अर्जुनकुमार महतारा बताउनुहुन्छ। उहाँका अनुसार पदमार्ग विस्तारको आवश्यकता त छ तर बजेट अभावले काम अघि बढ्न सकेको छैन।
भदौको अन्तिमदेखि कात्तिक १५ सम्म दुवै ताल भ्रमणका लागि सबैभन्दा अनुकूल मौसम मानिन्छ। चोत्रागाउँमा सञ्चालनमा ल्याउन लागिएको होमस्टे कार्यक्रममार्फत पर्यटकलाई सहज आवास र सेवा दिने तयारी स्थानीय सरकारले अघि बढाइरहेको छ।
दुधकुण्ड पुगेका चन्दननाथ–७ महतगाउँका नृपेन्द्र महतका अनुसार ताल वरपरको दृश्यले ‘स्वर्ग छिचोलेर आएको’ अनुभूति दिलाउँछ। तर पदमार्ग अझ व्यवस्थित भएको खण्डमा यात्रा धेरै सहज हुने उनको धारणा छ।
गुठीचौर गाउँपालिकाले दुधकुण्ड र आकासे ताललाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित कात्तिक २७ मा कर्मचारी टोलीमार्फत सम्भाव्यता अवलोकन गरेको पनि जनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाका अनुसार पदमार्ग सुधार र संरचना विकास भएमा पर्यटक आवागमनमा ठूलो वृद्धि हुने सम्भावना छ।

