जुम्ला भदौ ३

जुम्ला — नेपालकै सर्वाधिक उचाइमा खेती हुने अद्वितीय धान प्रजाति मार्सी धान अहिले केसर खेल्ने चरणमा प्रवेश गरेको छ। जुम्लाको पहाडी बस्ती वरिपरि रातो–हरियो र सुनौलो धानका बालाले सजिएका खेतबारीहरूले गाउँघरलाई रमणीय बनाएको छ।

जिल्लाका किसानहरूले यस वर्षको उत्पादनमा आशा व्यक्त गरेका छन्। “मौसम अहिलेसम्म अनुकूल छ। रोग–कीरा पनि खासै देखिएको छैन। पानी पनि समयमै परेको छ, यसैले यो वर्ष राम्रो धान हुने आशा गरेका छौँ,” हिमा गाउँपालिका–५ का किसान धनबहादुर शाहीले बताए।

२,३०० मिटरदेखि ३,०५० मिटरको उचाइमा मात्र फल्ने यो धानलाई “विश्वकै सबैभन्दा उचाइमा फल्ने धान” पनि मानिन्छ। स्थानीय भाषामा रातो धान वा मार्सी भनेर चिनिने यस धानले जुम्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान दिलाएको छ

सामान्य धानभन्दा मार्सी धानमा प्रोटिन, फाइबर, फलाम, जिंक र मिनरल प्रशस्त पाइन्छ। स्वास्थ्यका कारण पछिल्ला वर्षहरूमा यसको माग बढ्दो क्रममा छ। स्थानीयहरू यसलाई दाल–भातसँगै खाने मात्र नभई खिचडी, ढिँडो र विशेष परिकार बनाउन पनि प्रयोग गर्छन्

जुम्लामा वार्षिक झण्डै २–३ हजार मेट्रिक टन मार्सी धान उत्पादन हुने अनुमान गरिन्छ। तर बजारमा पुगेपछि यसको मूल्य सामान्य धानभन्दा दोब्बर पर्छ। हाल काठमाडौँ र पोखरा लगायतका शहरहरूमा प्रतिकिलो २५० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको उपभोक्ताहरू बताउँछन्।

किसानहरूले भने उचित बजार व्यवस्थापन नभएकाले आफैंले भन्दा व्यापारीहरूले बढी लाभ लिएको गुनासो गरेका छन्। “हामीले खेतमा पसिना बगाउँछौँ, तर अन्ततः बजारमा फाइदा व्यापारीलाई पुग्छ। सरकारले मूल्य स्थिरता र निर्यात प्रबर्द्धन गर्नुपर्छ,” किसान शान्ता ठकुरीले भनिन्

जुम्लामा आउने आन्तरिक र बाह्य पर्यटकहरूका लागि मार्सी धान र यसबाट बनेका परिकार विशेष आकर्षण बनेका छन्। हाल गाउँपालिकाहरूले मार्सी ब्रान्डिङ गर्ने र पर्यटनसँग जोड्ने योजना अघि सारेका छन्।

एक महिनापछि कटनी अहिले केसर खेल्न थालेको मार्सी धान करिब एक महिनापछि पाक्ने अनुमान गरिएको छ। किसानहरू अहिले धानको खेत वरिपरि सुरक्षा गर्दैछन्, किनकि यो चरणमा चराचुरुङ्गी र जंगली जनावरले धान नोक्सान पुर्‍याउने खतरा हुने गर्दछ।

Share.

Leave A Reply

Exit mobile version