मङ्सिर ४ जुम्ला
जुम्लामा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (च्ज्ख्ब्ए) अन्तर्गत करिडोर कार्यालय स्थापना गरिएको छ । जुम्लाको कृषि प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रतिफलमुखी बनाउने उद्देश्य सहित कार्यालय सञ्चालनमा ल्याइएको हो ।
कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित यो बहुवर्षीय परियोजनाको औपचारिक शुभारम्भ बुधबार एक विशेष समारोहका बीच कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले गर्नु भएको छ ।
समारोहमा बोल्दै मन्त्री शाहले जुम्ला तथा कर्णाली प्रदेशका कृषि क्षेत्रलाई आधुनिक प्रविधि, मूल्य चक्र विकास, व्यावसायिक उत्पादन र बजारीकरण मार्फत रूपान्तरण गर्न यस कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शाहले कर्णालीका तीन जिल्लामा उच्च मूल्यका कृषि वस्तुको उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा ठोस पहल गर्ने बताउनु भयो ।
कर्णालीको तरकारी, फलफूल, पशुपालन र दुग्ध क्षेत्रलाई आधुनिक पद्धतिबाट विस्तार गर्न यो परियोजना महत्वपूर्ण हुने उहाँले दाबी गर्नुभयो । कर्णालीमा कृषि सम्भावना धेरै छ । योजनाहरू ल्याएर मात्र होइन, समन्वय, सहकार्य र स्थानीय तहको सक्रिय सहभागिताबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।
त्यही लक्ष्यसहित यो कार्यक्रम अघि बढेको मन्त्री शाहले बताउनु भयो । उहाँका अनुसार, कर्णाली प्रदेश सभाबाट लागु हुने स्याउ बिकास बोर्डको मुख्य कार्यालय जुम्लामा रहने आश्वासन दिनुभयो । जुम्लामा उत्पादन, सम्भावना र इतिहास दुवै छ । त्यसैले स्याउ बोर्डको मुख्य कार्यालय यही हुने प्रतिबद्धता जनाउनु भएको हो ।
यस्तै कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र वहादुर शाहीले परियोजनाको स्वागत गर्दै कृषि क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने संरचनात्मक कदमहरू आवश्यक रहेको उल्लेख गर्नु भएको छ । उहाँले स्याउ विकास बोर्ड गठनलाई पूर्णता दिन आग्रह गर्दै कर्णालीको मौलिक उत्पादनकै आधारमा कृषिको पहिचान सिर्जना गर्नुपर्ने बताउनु भयो ।
करिडोर कार्यालय जुम्लाका प्रमुख सन्तोष भारतीले आगामी सात वर्षसम्म जुम्लाका छ वटा स्थानीय तहमा परियोजना लागु हुने बताउनु भयो । उहाँका अनुसार, तातोपानी र गुठिचौर गाउँपालिका बाँहे अन्य छ वटा पालिकामा परियोना सञ्चालन हुने जानकारी गराउनु भयो ।
उत्पादन भ्यालु चेन, प्रविधि हस्तान्तरण, कृषि मार्गचित्र तथा किसान समूह सुदृढीकरणमा परियोजना केन्द्रित रहने उहाँको भनाइ छ । कार्यक्रमले जुम्लामा उत्पादन वृद्धि मात्र होइन, व्यावसायिक कृषि, किसानको आय वृद्धि, युवा रोजगारी र स्थानीय स्तरमै उद्यमशीलता विकासको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।
च्ज्ख्ब्ए करिडोर कार्यालय स्थापना भएपछि अब जुम्लामा उच्च मूल्यका बाली जैविक तरकारी, स्याउ, अर्गानिक फलफूल, दुग्ध तथा अन्य पशुपालन क्षेत्रमा प्रविधियुक्त कृषि पूर्वाधार र बजार पहुँच विस्तारमा योजनाबद्ध रूपमा कार्य अघि बढ्नेछ ।
कर्णालीको कृषि विकासमा नयाँ ऊर्जा थप्दै सुरु गरिएको यो परियोजनाले स्थानीय किसान, सहकारी, निजी क्षेत्र र सरकारी संयन्त्रबीचको सहकार्यलाई अझै मजबुत पार्ने अपेक्षा गरिएको छ ।

