चैत २४ जुम्ला
जिल्ला प्रशासन कार्यालय जुम्लामा अधिकृत स्तरका कर्मचारी कागजमै सीमित हुँदा कार्यालयको दैनिक कामकाज र सेवा प्रवाह प्रभावित भएको छ । दरबन्दी जुम्लामा रहे पनि प्रमुख दुई कर्मचारी काठमाडौँस्थित सिंहदरबारमा काजमा बस्दा प्रशासनिक काममा असहजता बढेको हो । कार्यालय स्रोतका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा -क्षेत्री) दुवै जना हाल काजमा सिंहदरबारमा कार्यरत छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी महतलाई गृह मन्त्रालयले गत मंसिर ८ गते जुम्लामा सरुवा गरेको थियो । तर, उहाँ हाल राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा बस्दै आउनु भएको छ । त्यसैगरी, शाखा अधिकृत रेश्मा बुढा -क्षेत्री) असोज महिनामा जुम्ला सरुवा भई आए पनि अहिले कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा काजमा कार्यरत हुनुहुन्छ ।
दुवै कर्मचारी सिंहदरबारमै रहे पनि सेवा–सुविधा भने जिल्ला प्रशासन कार्यालय जुम्लाबाटै लिइरहेको स्रोतले जनाएको छ । प्रशासन स्रोतका अनुसार अधिकृत स्तरका कर्मचारी नहुँदा नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय, विपद् व्यवस्थापन लगायतका दैनिक प्रशासनिक काममा प्रत्यक्ष असर परेको छ । सेवाग्राहीले समयमै सेवा नपाउँदा गुनासो बढ्न थालेको छभने कार्यालयभित्र कार्यभार बाँडफाँडमा पनि समस्या देखिएको छ ।
दरबन्दी जुम्लामा छ, तर कर्मचारी यहाँ छैनन् । यसले दैनिक कामकाजमा ठुलो असर परेको प्रशासनका एक कर्मचारीले बताउनु भयो । उहाँका अनुसार काजमा रहेका कर्मचारीलाई दरबन्दी भएको कार्यालयमै फर्काएर काममा खटाउनु आवश्यक छ । दुर्गम जिल्लाबाट सेवा–सुविधा लिने तर बसाइँ सुगम क्षेत्रमा राख्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसको अन्त्य गर्न स्थानीयले माग गरेका छन् ।
यस्तो प्रवृत्तिले दुर्गम क्षेत्रका कार्यालयहरू कर्मचारी अभावले कमजोर बन्ने र सेवाग्राही मारमा पर्ने अवस्था सिर्जना हुन्छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा चुनौती थपिएको छ ।

